‘नेपाली भाषा मान्यता दिवस’को अवसरमा हार्दिक शुभकामना।

  • Home
  • /
  • ‘नेपाली भाषा मान्यता दिवस’को अवसरमा हार्दिक शुभकामना।
Raju Bista

‘नेपाली भाषा मान्यता दिवस’को अवसरमा हार्दिक शुभकामना।

‘नेपाली भाषा मान्यता दिवस’को अवसरमा भारतभरिका नेपाली भाषी गोर्खाहरूलाई हार्दिक बधाई एवम् शुभकामना। सन् १९९२ मा इतिहास रचिएको थियो जब भारतभरिका नेपाली भाषी गोर्खाहरूको समृद्ध भाषा-साहित्यको अस्तित्वलाई भारतीय संविधानको आठौँ अनुसूचिमा सम्मिलित गरेर मान्यता प्रदान गरिएको थियो।

आजको दिन भारतमा नेपाली भाषाको विकास र समृद्धिमा योगदान गर्ने समस्त रचनाकारहरू, नेपाली भाषालाई संवैधानिक मान्यता दिलाउन आफ्नो घर-परिवार, गाउँ, समाजदेखि लिएर राष्ट्रीय स्तरसम्म एउटा विश्वासिलो, दर्बिलो र शक्तिशाली भाषा आन्दोलन खड़ा गरेका भाषा संग्रामीहरूलाई नमन गर्ने दिन हो।
एउटा समृद्ध भाषाको रूपमा नेपाली भाषाको विकासमा अनवरत लागेका विविध विधाका साहित्यकारहरू, बुद्धिजीविहरू, सांस्कृतिक कर्मीहरू अनि देशको सर्वोच्च स्थल संसदमा नेपालीभाषीहरूको आवाज गुञ्जायमान गर्ने राजनेताहरूको संयुक्त प्रयास प्रति आभार व्यक्त गर्ने, धन्यवाद दिने र श्रद्धाञ्जली अर्पण गर्ने दिन हो २० अगस्ट।
प्रसिद्ध भारतीय रचनाकार भारतेन्दु हरिश्चन्दको प्रसिद्ध दोहा छ –
“निज भाषा उन्नति अहै, सब उन्नति को मूल।
बिन निज भाषा-ज्ञान के, मिटत न हिय को सूल।।“
अर्थात् आफ्नो भाषाद्वारा नै उन्नति सम्भव हुन्छ, किनकि यही नै सबै उन्नतिको मूलाधार हो। मातृभाषाको ज्ञान बिना मुटुको वेदनाको निवारण सम्भव छैन।
यसरी आफ्नो मातृभाषाले राष्ट्रिय गौरव प्राप्त गर्नु सम्पूर्ण गोर्खाहरूको लागि गर्वको कुरा हो। नेपाली भाषा एक यस्तो सम्पर्क भाषा हो जसले भारत अनि विश्वभरि छरिएका गोर्खाहरूलाई एकसूत्रमा बाँध्दछ।
आज यहाँ भारतीय नेपाली भाषा एवं साहित्यका स्तम्भ डा. पारसमणि प्रधानजिउले नेपाली हाम्रो मातृभाषा बारे लेख्नुभएका पँक्तिहरू अत्यन्तै सान्दर्भिक छन्:
“नेपाली भाषा खस-ब्राह्मणको मात्र भाषा होइन रहेछ, नेपाली भाषा मध्य-भारतबाट नेपाल पस्ने कन्नौजी ब्राह्मणहरूका सन्तानको मात्र पनि होइन रहेछ, नेपाली भाषा एकमुट्ठी रजपूत सन्तानको मात्र पनि होइन रहेछ।
यो त Angles, Saxons र Jules हरूका सम्मीश्रणले ‘Old English’ को उत्पत्ति भएझैँ समय-समयमा सैकडौँ वर्षमा धेरै बोलीहरूको सम्मिश्रणले बनेको एउटा नयाँ भाषा पो रहेछ। यो भाषा कुनै निश्चित जातिको पेवा-भाषा होइन रहेछ तर यो समस्त नेपाली जातिको मातृभाषा रहेछ। साँचो हो –
“लिम्बू जिम्दार तामङ् खस मगर गुरुङ् हायु चेपाङ् र कामी।
सुन्वार लाप्चे कुसुण्डा गिरिपुरि ठकुरी थारू नेवार थामी।।
नेपाली जाति हामी भनिकन सबले बोलि नेपाली भाषा।
हाम्रो भाषा यही हो भनि तनमनले मान्दछन् मातृभाषा।।”
मानवताको र विशेषगरि भन्नु पर्दा कुनैपनि सभ्यताको ज्ञान भाषामा गुँथिएको हुन्छ। भाषाको लोपका साथै त्यो सम्पूर्ण भाषिक समूह वा जातिको ज्ञान मर्दछ। संविधानमा मान्यता पाएपछि नेपाली भाषाले जुन गतिका साथ विकास र विस्तार पाउनु पर्ने हो, त्यस दिशामा धेरै काम गर्नु पर्ने आवश्यकता छ।
आउनुहोस्, आज २० अगस्ट भाषा मान्यता दिवसको अवसरमा हाम्रो गोर्खा जातिको मात्री भाषा नेपालीलाई अझ विस्तार दिने र झनै समृद्ध बनाउने सङ्कल्प गरौँ।

(0) Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *